एसियाडमा आज नेपालले महिला फुटबल र टेबल टेनिसमा प्रतिस्पर्धा गर्ने

काठमाडौं। एसियाली खेलकुदको १९ औं संस्करण अन्तर्गत उद्घाटन समारोहको अघिल्लो दिन नेपालले २ खेलको तीन स्पर्धामा सहभागिता जनाउँदैछ।

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल खेल्दै छ। प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपाल र भियतनामबीचको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ।

नेपालको समूहमा बङ्गलादेश र बलियो जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ ।

१९औँ एसियाली खेलकुदमा नेपालले फुटबल तर्फ महिलाले मात्र सहभागिता जनाएको छ। नेपालले पुरुष फुटबलमा भने भाग लिएको छैन । एसियाली खेलकुदको १९औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ ।

 त्यस्तै टेबल टेनिसमा पनि टिम इभेन्टको प्रारम्भिक चरणको खेल आज हुनेछ। महिलातर्फ टिम इभेन्टमा नेपालले विहान ७स्४५ बजे सिंगापुरको सामना गर्दैछ। नेपालबाट महिला टोलीमा नविता श्रेष्ठ, सिक्का सुवाल र इभाना थापा छन्।

त्यस्तै पुरुषतर्फ नेपालले विहान ९:४५ बजे जापानको सामना गर्नेछ। नेपालको पुरुष टोलीमा संयोग कपाली, विलोस श्रेष्ठ र रुविन महर्जनले प्रतिस्पर्धा गर्नेछन्।

१९ औं एसियाली खेलकुदको उद्घाटन शनिबार हुँदैछ । हालसम्म नेपालको पुरुष भलिबल टोली प्रतियोगिताबाट बाहिरिसकेको छ। अन्य खेलका खेलाडी भने हान्झाउ आउने क्रम जारि छ।