शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने

काठमाडौं। शिक्षा विधयकको विरोधमा आन्दोलनमा उत्रिएका शिक्षकहरुको आन्दोलन आज (शुक्रबार) पनि जारी रहने भएको छ। सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएपछि जारी आन्दोलनले आज पनि निरन्तरता पाउने भएको छ।

बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको थियो।

दुई पक्षबीचको वार्तामा बुँदागत रूपमा छलफल भएको भन्दै कानुनमन्त्री धनराज गुरुङले सकारात्मक छलफल भएको दाबी गरे।

उनले शिक्षकहरूका मागको बारेमा आज (शुक्रबार) फेरि बैठक बसेर सहमति जुटाउन प्रयास गरिने बताए । सहमति जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो।

यस्तै नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बिहीबारको बैठकमा सामान्य छलफल मात्रै भएको बताए। उनले भने, ‘औपचारिक वार्ता गर्न समितिका लागि पत्र लेखिँदैछ।

आजको लागि माहौल तयार मात्रै भएको हो। पत्र आएपछि औपचारिक वार्ता हुन्छ। अध्यक्ष भण्डारीले सहमति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने बताए। बुधबार देखि देशैभरका शिक्षकहरु विद्यालय बन्द गरेर काठमाडौँ केन्द्रीत आन्दोलनमा उत्रिएका छन्।