मुगुको गमगढी बजारमा आगलागी, ६ घर जलेर नष्ट,क्षतिको विवरण आउन बाँकी

काठमाडौं। मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ।

आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गमगढी बजारमा एक कम्प्युटर पसलबाट सुरू भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन्।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाका अनुसार आगलागी करिब ४ घन्टापछि नियन्त्रणमा आएको बताए।

आगलागीबाट वडाध्यक्ष पिआर मल्लको घर पनि जलेको छ। पुतली शाही, प्रदीप रावल, सन्त सिलवाल, सान्त्वना खत्री, जंग शाही र सोनाम लामाको घर पूर्ण रूपमा क्षति भएको डिएसपी थापाले जानकारी दिए।

उनका अनुसार करिब ११० सुरक्षाकर्मी परिचालन गरी बिहान साढे ४ बजे आगाे नियन्त्रणमा लिइएको बताए।

त्यस क्षेत्रमा दमकल नभएका कारण आगो निभाउन खानेपानीको पाइपबाट पानी हालिएको थियो। खानेपानीको पाइपबाट पानी, माटो र बालुवा प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।

आगलागीबाट भएको क्षतिको विवरण संकलन भइसकेको छैन। आज बिहानबाट क्षतिको विवरण संकलन भइरहेको डिएसपी थापाले जानकारी दिए।