बढ्यो सुन आयातको कोटा, दैनिक २० केजी आयात गर्न पाइने

काठमाडौं। नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको कोटा वृद्धि गरेको छ।

राष्ट्र बैंकले दैनिक २० किलो सुन आयात गर्न पाउने गरी कोटा बढाएको हो। एक दुई दिनमा कोटा बढाइएको विषयमा औपचारिक जानकारी गराइने बुझिएको छ।

वाणिज्य बैंकहरूले दैनिक १० किलो सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा त्यसलाई दोब्बर बनाउने निर्णय राष्ट्रबैंकले गरेको हो।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको कोटा बढाउन राष्ट्र बैंकलाई पत्र लेखेपछि राष्ट्र बैंक कोटा बढाउन तयार भएको हो।

यस अघि पनि वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन आयात गर्दै आएकोमा राष्ट्र बैंकले २०७८ फागुन २२ गते परिपत्र जारी गर्दै दैनिक कोटा १० किलोमा झारेको थियो।

सुन चाँदी व्यवसायीहरूले नेपाली बजारमा दैनिक ३० देखि ४० किलो सुनको माग रहेको दाबी गर्दै आएका छन्।