प्रधानसेनापति शर्मा आज नयाँदिल्ली जाँदै

काठमाडौं। प्रधानमन्त्री सेनापति प्रभुराम शर्मा आज (आइतबार) भारतको नयाँदिल्ली जाँदैछन्। उनी १३ औं इन्डो-प्यासिफिक सम्मेलनमा सहभागी हुन नयाँदिल्ली जान लागेको नेपाली सेनाका प्रवक्ता सहायक रथि कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

शर्मा बिहान साढे १० बजे नयाँदिल्ली प्रस्थान गर्ने सहायक रथि भण्डारीले बताए। १३औं इन्डो-प्यासिफिक सम्मेलन असोज ८ देखि १० गतेसम्म आयोजना हुँदैछ। सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी रहने बताइएको छ।

नेपाल,भारत,अमेरिका,अस्ट्रेलिया,बंगलादेश,इन्डोनेसिया,जापान,मलेसिया,भुटान,ब्रुनाइ कम्बोडिया,कोरिया,मालदिभ्स,मंगोलिया,म्यानमार, न्युजिल्याण्ड लगायत देशहरू सम्मेलनमा सहभागी हुने छन्।

प्रधानसेनापति शर्मा नेतृत्वको टोलीमा उपरथी योगराज शर्मा, महासेनानी वसन्तबहादुर गौतम र सेनाका प्रमुख सुवेदार रत्नबहादुर थापामगर सहभागी रहने प्रवक्ता भण्डारीले बताए। प्रधानसेनापति नेतृत्वको टोली ११ असोजमा स्वदेश फर्कने भण्डारीले बताए।