फेसबुकमा नयाँ फिचर सार्वजनिक,अब एउटै अकाउन्टबाट बनाउन सकिनेछ ४ वटा प्रोफाइल

काठमाडौं। सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण घोषणा गरेको छ ।

मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो। यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन्।

यदि फेसबुकमा धेरैवटा अकाउन्ट बनाउन नसकेकोमा तपाईंलाई समस्या महसुस भैरहेको छ भने यो तपाईंका लागि खुसीको खबर हुनसक्छ।

फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो। सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु पर्ने हुनसक्छ।

यो फिचरको प्रयोगसँगै प्रयोगकर्ताले आफ्ना फरक-फरक प्रोफाइलमा फरक(फरक प्रकारका पोस्ट गर्न वा सामग्रीहरु शेयर गर्न सक्नेछन्। सबै प्रोफाइलका फिड पनि अलग अलग हुनेछन्।

यसका अलावा लगइन बटनबाट प्रयोगकर्ताले आफ्ना विभिन्न प्रोफाइलमा स्वीच गर्न सक्नेछन्। तर एकभन्दा धेरै अकाउन्ट बनाउने प्रयोगकर्ताका लागि डेटिंग, मार्केटप्लेस, प्रोफेसनल मोड तथा पेमेन्ट फिचरको पहुँच भने रहनेछैन।

सबै प्रोफाइलका लागि मेसेजिंगको सुविधा पहिलेकै जस्तो गरी उपलब्ध हुनेछ। अर्थात् मेसेजिङ सुविधा केवल एउटा प्रोफाइलमा मात्र प्रयोग गर्न सकिनेछ।एजेन्सी