नेपाल र चीनबीच भएका सहमतिहरू समेट्दै संयुक्त वक्तव्य जारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ प्रधानमन्त्री ली छियाङबीच भएको दुई पक्षीय वार्तामा भएका सहमतिहरुलाई समेट्दै मंगलबार संयुक्त वक्तव्य जारी गरिएको छ।

सामान्यतः दुई पक्षीय वार्तालगत्तै संयुक्त पत्रकार सम्मेलन गरी सहमतिहरु सार्वजनिक गर्ने चलन भए पनि दुई देशबीच केही बूँदाहरुमा सहमति हुन नसक्दा मंगलबार मात्रै संयुक्त वक्तव्य जारी गरिएको हो।

चीनले बीआरआइ, जीएसआइ र जीडीआइ जस्ता अभियानमा नेपालको समर्थन खोज्दा वक्तव्य जारी हुन नसकेकोमा नेपाल ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्स (जीडीआइ) लाई समर्थन गर्न तयार भएपछि संयुक्त वक्तव्य जारी गरिएको हो।

मंगलबार बिहान जारी गरिएको वक्तव्यमा नेपालले चीनको ग्लोबल डेभलपमेन्ट इनिसियटिभ्सलाई समर्थन गरेको उल्लेख छ। यस्तै, दुई देशबीचका पारम्परिक सीमा व्यापार विन्दुहरूलाई पुनः सुचारु गर्ने समझदारी पनि भएको छ।

यस्तै, लिजी–नेचुङ बन्दरगाह र चाङ्मु–खासा सर्वसाधारणका लागि खोलिएकोमा दुवै पक्षले स्वागत गरेका छन्। छेन्ताङ–किमाथांका र रिवु–ओलाङचुङगोला बन्दरगाह खोल्ने विषयमा पनि दुई पक्षबीच कुराकानी जारी रहने वक्तव्यमा उल्लेख छ।

नेपाललाई भूपरिवेष्ठित अवस्थाबाट भूजडित देश बनाउन यातायात र राजमार्ग सम्बन्धि सम्झौताहरु कार्यान्वयन गर्ने सहमति पनि भएको वक्तव्यमा उल्लेख छ। काठमाडौंको टोखादेखि नुवाकोटको छहरेसम्म बन्ने सुरुङ मार्गको सम्भाव्यता अध्ययन अघि बढाउन पनि दुई देश सहमत भएका छन्।

काठमाडौंको चक्रपथ विस्तारको दोस्रो चरणको कामलाई छिट्टै कार्यान्वयनमा लैजाने विषय पनि वक्तव्यमा समावेश छ। रसुवास्थित चिलिमे जलविद्युत आयोजनादेखि केरुङसम्म २ सय २० केभी प्रसारण लाइन निर्माण गर्ने सहमति भएको तथा केरुङ–काठमाडौं सीमापार रेलमार्गको सम्भाव्यता अध्ययनमा भएको प्रगतिमा दुवै मुलुकले सन्तुष्टि जनाएको पनि वक्तव्यमा उल्लेख छ।

यस्तै, नेपालमा रेल सञ्चालनका लागि आवश्यक जनशक्तिलाई चीनले तालिम दिने र नेपालले चीनलाई एक जोडी गैंडा दिने विषय पनि वक्तव्यमा समावेश गरिएको छ।