गजल मञ्च चितवनको पुरस्कार वितरण तथा एकल गजल वाचन कार्यक्रम सम्पन्न

चितवन। गजल मञ्च चितवनको आयोजनामा द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०८० अर्पण तथा एकल गजल वाचन कार्यक्रम भरतपुरको सगुन पार्टी प्यालेसमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता लेखराम सापकोटा तथा सञ्चालन सिम्रन क्षेत्रीले गरेको कार्यक्रममा प्रमुख अतिथि हाम्रो मझेरी साहित्य प्रतिष्ठानको अध्यक्ष चर्चित गजलकार पुष्प अधिकारी अञ्जलीले गर्नु भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि स्वर्गीय गजलकार द्वारिका नेपालकी धर्मपत्नी पार्वती अर्याल नेपाल हुनुहुन्थ्यो।

चितवनका साहित्यकार, गजलकार एवम् उल्लेख्य साहित्यिक सर्जकहरुको उपस्थितिमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै रामकृष्ण अनयासले उपस्थित सबै सबैमा विशेष आभार प्रकट गरे।

कार्यक्रममा गजल मञ्च चितवनका पूर्व अध्यक्षहरु धनराज गिरी, प्रभाकर पण्डित, किसान प्रेमी, रमेश प्रभात, गोर्खे साइँलो लगायतले सम्मानित युवा गजलकार कमल अर्याललाई शुभकामना व्यक्त गर्दै आगामी साहित्यिक उज्वल भविष्यको कामना गरे।

कार्यक्रममा गजलकार कमल अर्यालको व्यक्तित्व र कृतित्वको बारेमा साहित्यकार लक्ष्मण अर्यालले समालोचना गरे। विभिन्न आठ रचना मार्फत आफ्नो साहित्यको विकासमा योगदान पुर्याएका कमल अर्याललाई गजल मञ्च चितवनले द्वारिका नेपाल गजल स्मृति पुरस्कार-२०८० दिने निर्णय सबैले वक्ताले खुलेर सरहना गरे।

कार्यक्रमका बिच प्रमुख अतिथि पुष्प अधिकारी अञ्जली , विशिष्ट अतिथि पार्वती अर्याल नेपाल एवम् कविडाँडा साहित्य समाजका अध्यक्ष एल बि क्षेत्रीले संयुक्त रुपमा पच्चीस हजार नगद सहित प्रसंशापत्र एवम् दोसल्ला ओढाएर सम्मान गरिएको थियो।कार्यक्रममा सम्मानित युवा गजलकार कमल अर्यालले आधा दर्जन दमदार गजल वाचन गर्दा हल नतमस्तक भएको क्षण साच्चिकै रोमान्चित बनेको थियो।

गजलकार कार्यक्रमका प्रमुख अतिथि पुष्प अधिकारी अञ्जलीले स्वर्गीय गजलकार द्वारिका नेपाल एक मृदुभाषी, मिलनसार गजलकार एवम् पत्रकार भएको बताउदैं नेपाली साहित्यिक आकाशमा उनी कहिल्यै नमर्ने गरी अमर रहने धारणा राखेका थिए।

स्वर्गीय गजलकार द्वारिका नेपाल गजल मञ्च चितवनका पूर्व अध्यक्ष समेत भएको र गजल मञ्च चितवनले सदैव उनलाई सम्झिने गरी पुरस्कार स्थापना गरेको बताए।

कार्यक्रममा गजल मञ्च चितवनका अध्यक्ष लेखराम सापकोटाले कार्यक्रममा उपस्थितिको लागि साहित्यकार एवम् कविहरु, पत्रकार सबै सबैमा धन्यवादसहित कार्यक्रम समापन गरे।