ट्याक्सी चालक नसुध्रिदाँ मौलायो निजी प्लेटका सवारी साधनको ठगीधन्दा

नेपालीहरुको महान् चाड दशैं दैलोमा छ। दशैं लागेसँगै सबैलाई आफ्नो थातथलो जानकै हतारो छ। आफ्नो जिल्ला छोडेर अन्त बसेका मात्रै होइन्, विदेशबाट समेत नेपाली दशैं मान्नका लागि मुलुक फर्किएका छन् । रोजगारी, पेशा व्यवसाय, पढाइको सिलसिलामा काठमाडौं उपत्यका र जिल्लाको सदरमुकाममा बस्दै आएका आम नागरिकहरु पनि धमाधम फर्किरहेका छन्।

पैसा हुनेहरु प्लेनको टिकट काटेर घर फर्किएका छन्। जहाजको भाडा तिर्न नसक्नेहरु बसको धक्काधक्की खाएर घर गइरहेका छन्। तैपनि एक हजार रुपैयाँ भाडा तोकिएको बाटोमा पाँच हजार रुपैयाँ तिर्नुपर्ने बाध्यता छ। कतिपय सर्वसाधारण ट्याक्सी र निजी प्लेटका सवारी साधन रिजर्भ गरेर पनि गाउँ गइरहेका छन्। दशैं भएकाले चालकले जति भन्यो त्यति भाडा तिर्न बाध्य छन्, सर्वसाधारण।

लामो रोडमा चल्ने सवारी साधन वा हवाई कम्पनीले दशैंको मौका छोपेर ठग्नु नौलो कुरा होइन् । विगतदेखि चलेको ठग्ने क्रम जारी नै छ । दशैं लागेसँगै सबैभन्दा धेरै भ्याइनभ्याइ हुने यातायात व्यवसायीलाई हो । झन् ट्याक्सीको आवश्यकता धेरै हुन्छ । कोठाबाट एयरपोर्टसम्म जान पनि ट्याक्सी, बसस्टपसम्म जान पनि ट्याक्सी । हातमा टन्न झोला हुन्छ अनि ट्याक्सी नचढिकन त सुःखै छैन् ।

अहिले पठाओ पनि सञ्चालनमा छ । तर, पठाओको पनि मनोमानी चलेको छ । एक जना भए त पठाओमा गएनि हुन्छ । पठाओ रातो प्लेटमा दर्ता भएकाले सरकारले यसको भाडादर कायम गरेको छैन् । कुनैले ३६ त कुनैले २६ रुपैयाँ किलोमिटरको दरमा पठाओ चलाइरहेका छन् । पठाओमार्फत ट्याक्सी बुक गर्यो भने शुरुमै १७७ रुपैयाँ तिर्नुपर्छ । यो त सेवाशुल्क मात्रै हो ।

जबकी सरकारले फल्याक डाउनबापत ५० रुपैयाँ तोकेको छ। यता, पठाओ ट्याक्सीको भाडादर पनि सरकारले तोकेअनुरुप छैन्। अन्य ट्याक्सीको त झनै कुरै नगरौं। मान्छे हेरेर चालकले भाडा माग्छन्। मिटरमा जाऔं भनेर सयौं बिन्ती गरेपनि मान्दैनन्। छोटो दूरीमा ट्याक्सी जाँदैन्। चालकको जिब्रोले भाडा तोक्छ। भक्तपुर जिल्ला उपत्यकाभित्रै पर्छ। तर, सल्लाघारीस्थित पार्किङ्गमा ट्याक्सी होइन्, निजी प्लेटका कार पार्क गरिएको हुन्छ।

यो त उदाहरण मात्रै हो। भक्तपुरका अन्य ठाउँमा पनि यही अवस्था छ। गाउँबाट सामान बोकेर आएकालाई निजी प्लेटका गाडी चालकले दिँउसै रात पारिदिन्छन्। एक किलोमिटर बाटोमै एक हजार रुपैयाँ लिन्छन्। सल्लाघारीबाट अनामनगर आएको २५ सय रुपैयाँ लिन्छन् । निजी प्लेटका सवारीले खुलेआम ठग्दासमेत ट्राफिक टुलुटुल रमिता हेरेर बसेको छ।

यातायात तथा सवारी ऐन, २०४९ र नियमावली २०५४ मा निजी प्रयोजनका लागि दर्ता भएका सवारी साधनले भाडामा यात्रु बोक्न नपाउने व्यवस्था गरेको छ । भाडाको गाडीजस्तो निजी प्लेटको सवारी साधनले राजश्व तिर्नुपर्दैन्।

भाडाको गाडीले प्रत्येक ६ महिनामा रोड परमिट, जाँचपास र धुँवा पासको राजश्व तिर्नुपर्छ । यता, घरेलु र कम्पनीमा गएर पञ्जीकरण पनि हुनुपर्छ।तर, निजी प्लेटका सवारीको हकमा यो नियम लागु गरिएको छैन्।

एउटा सवारीमा गाडी धनीले तीन लाखदेखि करोडौं रुपैयाँ लगानी गरेका हुन्छन्। त्यसबापतको राजश्व खोइ ? आयल निगमले पेट्रोल, डिजेलको भाउ घटाउँदा श्रम, रोजगार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागले भाडा घटाउने बढाउने गर्छ। निजी प्लेटमा यो पनि लागु हुँदैन्। जनसंख्या बढेको छ। यातायातको खाँचो सबैलाई पर्छ। बिरामी हुँदा, आपतविपत पर्दा ट्याक्सी चाहिन्छ। तर, पर्याप्त ट्याक्सी नहुँदा निजी प्लेटका सवारी साधन सञ्चालनमा आएका छन्।

निजी प्लेटका सवारी साधनले यात्रुलाई ठगेर कमाइरहेको छ। यद्यपि, सरकारले राजश्वसमेत नपाएको अवस्था छ। न सरकार यातायात क्षेत्रमा वर्षौदेखि भएको सिण्डिकेट हटाउन सक्छ न यात्रुलाई सेवासुविधा नै दिन सक्छ।

ट्याक्सीको मात्रै नभई अन्य सार्वजनिक सवारी साधनको समेत लामो समयदेखि दर्ता बन्द छ। फोस्टक टेम्पोको दर्ता पनि खोलिएको छ। ट्याक्सी व्यवसायीहरुले एउटै गुनासो गर्दै आएका छन्,‘निजी प्लेटका सवारी साधनले यात्रु बोक्यो।

उनीहरुले यसको विरोध गर्दै आएका छन्। हामीले यात्रुलाई सेवासुविधा दिन सकेनौं भन्ने कुरा ट्याक्सी व्यवसायीलाई राम्रोसँग थाहा छ।

ट्याक्सी व्यवसायीले विगतदेखि नै यात्रुलाई दादागिरी देखाउँदै आएका छन्। अनि यात्रुले विकल्प नखोजेर के गर्नु ? ट्याक्सी चालकहरुकै कारणले रातो प्लेटका सवारी साधन चलनचल्तीमा आएको छर्लङ्ग छ।

आफैं दादागिरी देखाउने अनि आफैं मर्कामा परे भनेर नौटंकी देखाउन मिल्छ ? ट्याक्सी चालकहरु मिटरमा जान नमान्ने, छोटो दूरीमा जान नमान्ने र जसरी हुन्छ यात्रुलाई ठग्ने।

पैसा तिरेपछि राम्रो सेवासुविधा पाउनु जनताको हक हो। जनताले समयसँगै परिवर्तन खोज्छन् । तर, ट्याक्सी व्यवसायीले परिवर्तन गर्न चाहेनन् । उनीहरुले आफ्नो मनोमानी सँधै चलिरहन्छ भन्ने सोचे।

त्यसको फाइदा निजी प्लेटका सवारी साधनले लिए । आफ्नै मुर्खताका कारण ट्याक्सी चालक नाङ्गिँदै गए । अहिले ट्याक्सीभन्दा धेरै निजी प्लेटका सवारी साधनमा छन् ।

सर्वसाधारण निजी प्लेटका सवारी साधनबाट सन्तुष्टि नै छन् । तर, यसबाट राज्य र जनता दुवैलाई बेफाइदा भएको छ। राज्यले राजश्व पाएको छैन्। यता, यात्रुले पनि मँहगो भाडा तिर्नुपरेको छ । ट्याक्सीले पाँच सय रुपैयाँ लिने बाटोमा निजी प्लेटका सवारी साधनले १५ सय रुपैयाँ लिइरहेको छ। यद्यपि, यात्रुलाई यसले फरक परेको छैन् । किन कि उनीहरुले सेवा पाइरहेका छन्।

 ट्याक्सी चालकले आफ्नो खुट्टामा आफैंले बञ्चरो हानेका छन्। ट्याक्सी चालकहरु आन्दोलन गर्नमै व्यस्त भए, निजी प्लेटका सवारीले बाटो लिइहाले । संगठन खोल्ने, राजनीतिक दलको झोले बन्ने, मिडियाबाजी गर्नेको परिणाम अहिले ट्याक्सी चालकहरुले भोगिरहेका छन्। ट्याक्सी चालक कहिले सुध्रिन खोजेनन। उनीहरुको सरकारको ऐनकानुन पनि टेरेनन्।

ट्याक्सी आकस्मिक अवस्थामा चाहिने साधन हो । बिरामीसँग पैसा नभएपनि चालकले सित्तैमा अस्पताल पुर्याइदिनुपर्छ । मानवता सबैले देखाउनुपर्छ।

ट्याक्सी व्यवसायीले धर्म, सेवा र आफ्नो कर्तव्य नै बिर्सिए । जसरी हुन्छ ठग्ने र लुट्नेतिर उनीहरु केन्द्रीत भए । ट्याक्सी चालक यात्रुबाट घृणित बनेका छन्। ट्याक्सीको सिट अहिलेपनि त्यस्तै फोहोर छ । चालक पनि फोहोरी, अधिकांश चालकलाई बेलुका खाएकै रक्सीले छोडेको हुँदैन्।

ट्याक्सी पनि सबै थोत्रा, पुराना र कबाडी छन्। फोहोर ट्याक्सीका कारण यात्रुको लुगा बिग्रिन्छ । पैसाचाँहि लिने अनि सुविधा नदिने। यो त दिँउसै लुटेको भएन् र।  निजी गाडी हेर्ने हो भने चिटिक्क बनाएर राखिएको हुन्छ । चालकहरुले यात्रुलाई त मख्ख पारिदिन्छन्।

ट्याक्सी चालक घरमा श्रीमतीसँगको झगडा यात्रुमाथि पोख्छन् । निजी प्लेटका चालकले हाँसिहाँसि यात्रुलाई ठग्छन्।निजी प्लेटका चालकले यति बाठा हुन्छन् कि ट्राफिकले सोधपुछ गर्यो भने आफ्नै गाडी हो भन्न यात्रुलाई सिकाउँछन्।

विकसित मुलुकमा कम्पनीमार्फत ट्याक्सी सञ्चालन भएको हुन्छ। लक्जरी ट्याक्सी हुन्छन्। चालकले मिटरमा उठेभन्दा बढी भाडा लिँदैनन्। टिप्स दियो भनेपनि लिन मान्दैनन्। तर, हाम्रो मुलुकमा सबै ७९६ सिसीका थोत्रा ट्याक्सी चलेका छन्।

चालकले टिप्स पाए के छोड्थें, दिँउसै ठगिदिन्छन्। यहाँ त जसरी हुन्छ, ठग्ने र लुट्ने हो । हामी सुध्रिनुपर्छ, जिम्मेवार हुनुपर्छ भन्ने यहाँ छैन् । ट्याक्सीको लुटको धन्दाले सीमा नाघिसकेको छ।

मिटरमा नहिँड्ने र २० वर्षे कटेका ट्याक्सीलाई ट्राफिकले कारबाही गरेको छैन् । ट्राफिक प्रहरी ट्याक्सी व्यवसायीको अगाडि निरीह बनेको छ।