एसीसी यू—१९ प्रिमियर कप: बहराइनलाई हराउँदै नेपाल सेमिफाइनल नजिक

काठमाडौं। एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ। मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जितेर पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो। नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे।

उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए। कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे। उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे।

त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए। तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए। दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन्। नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए।

त्यसअघि बहराइनले ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सकेको थियो। खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए।