लाओसलाई हराउँदै नेपाल दोस्रो चरणमा

काठमाडौं। नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ। मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे। अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लािग गोल गरेका थिए।

काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगमा जित निकाल्ने टिम अघिल्लो चरण प्रवेश गर्न पाउने थियो। समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ।

पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले सुधारिएको प्रर्दशन गरेको थियो । खेलको अन्तिम मिनेटमा नेपालको खतरा टार्दै कप्तान किरण चेम्जोङले पाहुना टोलीको अग्रतालाई जोगाएका थिए।

नेपालका लागि डिफेन्डर अमृत श्रेष्ठले राष्ट्रिय टिमबाट डेब्यु गरे। प्रशिक्षक भिसेन्जो एनिसले श्रेष्ठलाई सेन्टर फरवार्डको रुपमा खेलाएका थिए।

नेपालले अब समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ।

यस्तो हुने छ दोस्रो चरणको प्रतिस्पर्धा

विश्वकप छनोटको दोस्रो चरणमा एसियाका शीर्ष २६ वरीयतामा रहेका टोलीसँगै पहिलो चरण पार गरेका १० गरी कूल ३६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा सहभागी टिमलाई ९ समूहमा विभाजन गरिएको छ। हरेक समूहमा चार टोली छन्। जसमा हरेकले एक अर्कासँग होम एण्ड अवेका आधारमा दुई(दुई खेल खेल्नेछन्।

दोस्रो चरणमा नेपालको भेट यूएई, बहराइन र यमन हुनेछ। तीनवटै टोलीसँग नेपालले होम एण्ड अवेका आधारमा दुई दुई खेल खेल्नेछ।

नेपालले युएईसँग अहिलेसम्म जम्मा एक खेल खेलेकोमा पराजित भएको छ भने बहराइन विरुद्ध अहिलेसम्म खेलेको छैन। यमन विरुद्ध ४ खेल खेल्दा नेपाल जितविहीन छ। यमनले तीन खेलमा नेपाललाई हराउँदा एक खेल बराबरीमा सकिएको थियो।

दोस्रो चरणको खेलहरु आगामी नोभेम्बरदेखि नै सुरु हुनेछ र २०२४ को जुनसम्म सञ्चालन हुनेछ। अब नेपालले अर्को ८ महिना छनोट अन्तर्गत अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउनेछ। त्यसको तयारी स्वरुप केही मैत्रीपूर्ण खेलसमेत आयोजना हुने छन्।

दोस्रो चरणमा ९ समूहबाट समूह विजेता र उपविजेता हुने दुई दुई गरी कूल १८ टोली विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् र २०२७ को एसियन कपमा पनि सिधै छनोट हुनेछन्।

दोस्रो चरणमा राम्रो प्रदर्शन गर्न सके विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने र एसियन कपमा ऐतिहासिक छनोट हुने अवसर समेत नेपाललाई हुनेछ।