राष्ट्रिय एकता कमजोर बनाउनेप्रति सजग हुनुपर्छ :अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौ। नेकपा (एमाले) ले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकामा आपत्ति जनाउँदैप्रति त्यसो हुन नदिन सबै सजग हुनुपर्ने बताएका छन्।

एमालेको जनसङ्गठन नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी तथा सैनिक सङ्गठनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले मुलुकका असहिष्णुता र अराजकता बढेर राष्ट्रिय एकतालाई कमजोर बनाउने प्रयास भएकाले आम नेपालीले त्यसको प्रतिकार गर्नुपर्नेमा जोड दिए।

एमाले अध्यक्ष ओलीले भने, “महान् पुर्खाका सन्तान नेपालीले जिम्मेवारीबोधसहित सबै नेपाली सुरक्षाकर्मीसरह अनुशासित हुनुपर्छ। हामी विभेद र असमानतालाई अन्त्य गरेर सामाजिक सद्भावसहितको एकता चाहन्छौँ,यसका आधारमा हामी समृद्धिको बाटोमा अघि बढ्न खोजेका छौँ।

यो यात्रालाई बिथोल्न खोज्नेबाट सतर्क हुनुपर्छ।उनले जागीरबाट भूतपूर्व भए पनि कठिनाइ र समस्याका बीच राष्ट्रिय कर्तव्यबाट कोही पनि विमुख हुन नसक्ने जनाउँदै पूर्व सुरक्षाकर्मी देशको एक पहरेदार हुन् भने।

कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाललगायतको उपस्थिति थियो। सङ्गठनका अध्यक्ष विनोद पाण्डेले राष्ट्रको सेवा गरेर अवकाश लिएका पूर्वसुरक्षाकर्मीले मुलुकको समृद्धि चाहेको स्पष्ट गरे।