यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।