दशैंको टीका कतिबेला लगाउने,कता फर्किएर लगाइदिने?

काठमाडौं। दशैं आफैंमा शुभ दिन हो । दशैंको बिहानदेखि दिनभर र अपराह्सम्म पुरै साइतको दिन हो। अन्य कामका लागि साइत हेर्न आवश्यक भए पनि दशैंका दिन टीकाका लागि थप केही गरिरहन पर्दैन।

बिहान उठेर घामको झुल्कोमा दुर्गा विसर्जन गरेर कलशको जलले अभिषेक गरेर आफन्तकोमा टीका लगाउन जाने चलन छ। दशैंमा कतिबेला टीका लगाउने भनेर कुनै अलमल हुनु पर्दैन।

त्यति हुँदाहुँदै पनि साइत नै चाहिनेहरुका लागि नेपाल पञ्चाङ्ग निर्णायक समितिले ११ बजेर २ मिनेटमा उत्तम साइत भनेर तय गरेको छ।

त्यसभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ, १० बजेट ३७ मिनेटमा दुर्गा विसर्जन गर्नु उत्तम हुन्छ।

कता फर्किएर टीका लगाउने?

परम्परा अनुसार पूर्वपश्चिम टीकाको साइत हो। पूर्वपट्टि फर्केर टीका थाप्ने र पश्चिम फर्केर लगाइदिने गरिन्छ। सामान्यतयाः पूर्वपश्चिम नै हाम्रो पुरानो परम्परा हो।

दक्षिणतिर पितृकर्म मात्रै गरिने भएकाले दक्षिण फर्किने चलन छैन। कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन्। तर त्यति विस्तृत रुपमा जाने चलन छैन।

साइत नै खोजेर उपयुक्त समयमा टीका लगाऊँ भन्नेका लागि ११ बजेर २ मिनेटमा उपयुक्त समय छ। कसैलाई हतारो भएमा, टाढा जानुपर्ने बाध्यात्मक अवस्थामा बिहान झुल्के घाममा टीका लगाउने चलन छ। पहिलेदेखि नै दशैंको दिन जतिबेला पनि टीका लगाए हुन्छ भन्ने चलन छ।

बिहान घाम झुल्केपछि विधिविधानपूर्वक मान्यजनबाट टीका ग्रहण गरेर टाढा रहेका मान्यजनको टीका थाप्न जान कुनै बाधा पर्दैन। त्यसैले टीकाको साइतको दुविधा नपाले हुन्छ।

अहिले त कतिपयहरुलाई दशैंको दिन ढिलोगरी नेपाल आउन पाउने बाध्यता पनि बन्न सक्छ। त्यस्तो अवस्थामा समेत साइत गुज्रिएकाले दुविधा पाल्नु पर्दैन। जतिबेला भएपनि मान्यजनबाट टीकाप्रसाद ग्रहण गर्नु उपयुक्त हुन्छ।