काठमाडौं महानगरपालिकाले गर्‍यो १ हजार कुकुरको बन्ध्याकरण

काठमाडौं। काठमाडौं महानगरपालिकाले एक हजार कुकुरको बन्ध्याकरण गरेको छ। महानगरपालिकाले २३ असोजदेखि कुकुरको बन्ध्याकरण सुरु गरेको थियो। जसमा आइतबारसम्म एक हजार कुकुरको बन्ध्याकरण गरेको हो।

कुकुर र बिरालोलाई बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप दिने भन्दै पहिलो चरणमा वडा नम्बर ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ गरी ९ वटा वडामा बन्ध्याकरण सुरु गरेको थियो।

तर, बिरोलोलाई पहिलो चरणमा बन्ध्याकरण नगरेपनि कुकुरहरुलाई बन्ध्याकरण गरिएको कृषि तथा पशुपन्छी विभागका प्रमुख डा. अवधेशकुमार झाले जानकारी दिए।

‘तीन महिनामा ५ हजार ८ सय सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण गर्ने र १६ हजारलाई भ्याक्सिन दिने लक्ष्य थियो। तर, हामीले छोटो समयमा नै एक हजार बढी गरिसक्यौं। संख्या अझै बढ्न सक्छ, डा. झाले भने।

महानगरपालिकाले छनोट गरेको संघ संस्थालाई बन्ध्याकरण गर्दा प्रतिकुकुर २ हजार ५ सय रुपैयाँ महानगरले दिने गरेको छ। खोप मात्र लगाएकोमा २ सय रुपैयाँ दिने गरेको छ।

बन्ध्याकरणपछि केही समय आराम गराएर कुकुरलाई उनीहरु बसोबास गर्ने गरेको ठाउँमा लगेर छोडिने झाले बताएका छन्। ‘खोप पाएको वा बन्ध्याकरण गरिएकाहरुको कानमा संकेत (एअर नोच) चिन्ह लगाएर महानगरले जहाँबाट उठायो त्यहीँ छोड्छ,उनले भने।