गैरहाजिर रहेका २२ प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन

काठमाडौं । आफूखुशी गैरहाजिर भएका २२ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक निरीक्षक, प्रहरी हवलदार, प्रहरी सहायक हवलदार र प्रहरी जवान गरी आफूखुशी गैरहाजिर रहेका २२ जना प्रहरीलाई चित्तबुझ्दो स्पष्टिकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन भनेको हो।

काठमाडौं उपत्यका प्रहरी कन्ट्रोल रूम समन्वय शाखा, रानीपोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक जेम्स हाङ सोदेम्बा साउन २४ गतेदेखि गैरहाजिर छन्।

प्रहरी चौकी माङजाबुङ पाँचथरमा कार्यरत प्रहरी हवलदार डम्बर नारायण चौधरी भदौ २९ गतेदेखि गैरहाजिर छन्। विभिन्न मितिदेखि गैरहाजिर रहेका प्रहरीहरूको खोजतलास गराउँदा तथा सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएको प्रहरी हेडक्वार्टरले जनाएको छ।

त्यसकारण सूचना प्रकाशन भएदेखि बाटोको म्यादबाहेक ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित सम्पर्कमा नआए सेवाबाट हटाउने चेतावनी दिएको छ।