यी नौ जना विरूद्धको भ्रष्टाचार मुद्दा: १२ वर्षदेखि ‘हेर्न नभ्याएको, नमिलेको’मा

काठमाडौं । सर्वोच्च अदालतमा रहेका भ्रष्टाचारका मुद्दामध्ये १२ वर्ष पुरानो भ्रष्टाचारसँग सम्बन्धित मुद्दाको सोमबार पेसी चढेको छ।

न्यायाधीशहरू मनोजकुमार शर्मा र कुमार चुडालको संयुक्त इजलासमा परे पनि उक्त मुद्दा भने ‘हेर्न नमिल्ने’मा परेको छ।

सरकारले २०६८ साल असोज ३० गते सर्वोच्चमा दिनेशनाथ चालिसेसहित नौ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा पुनरावेदन दर्ता गरेको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दर्ता गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतले गरेको फैसलामा चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन दर्ता भएको थियो। जुन मुद्दा प्रायः हेर्न नमिल्नेमै पर्ने गरेको छ ।

२०७९ साउन २४ गते मिसिल कागज झिकाउने आदेश भएको थियो। त्यसपछि एक पटक हेर्न नभ्याइने र तीन पटकसम्म हेर्न नमिल्नेमा परेको छ।

त्यसै मुद्दामा प्रतिवादी चालिसेको तर्फबाट कानुन व्यवसायीका रूपमा हरिकृष्ण कार्कीले समेत बहस गरेका थिए।

त्यसपछि कार्की सर्वोच्चमा न्यायाधीश नियुक्ति भई प्रधानन्यायाधीशको जिम्मेवारी लिएर सेवानिवृत्त भइसकेका छन् । तर सर्वोच्चमा अहिलेसम्म मुद्दाको टुंगो लाग्न सकेको छैन ।

पुराना भ्रष्टाचारका अरू पनि मुद्दा लामो समयदेखि सर्वोच्चमा विचाराधीन छन्। पाँच वर्ष नाघेका चार हजार बढी मुद्दा सर्वोच्चमा विचाराधीन छन्।

त्यसमा १७ वर्ष पुराना भ्रष्टाचारका मुद्दा पनि फैसला हुन बाँकी छन्। पूर्वमन्त्री गोविन्द जोशीलगायतका पुराना भ्रष्टाचारका मुद्दामा फैसला हुन सकेको छैन।

सर्वोच्चमा पुनरावेदन दर्ता भइसकेपछि २०६८ चैत २१ गते न्यायाधीशहरू दामोदरप्रसाद शर्मा र गिरिशचन्द्र लालको संयुक्त इजलासमा पहिलो पटक पेसी चढेको थियो।

पेसी चढेको सुरुवातमै पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका थिए।

त्यसपछि २०६९ जेठ १४ गते चढेको पेसीमा पनि पक्षकै कानुन व्यवसायीबाट मुद्दा स्थगित भएको थियो।

त्यसपछि न्यायाधीश दामोदरप्रसाद शर्मा र तर्कराज भट्टको संयुक्त इजलासले झझि (झगडिया झिकाउने)आदेश गरेको थियो। त्यसपछि दर्जन बढी पटक पक्षकै कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन् ।

सामान्यतया कानुन व्यवसायीले तीन पटकसम्म मुद्दा स्थगित गर्ने कानुनी व्यवस्था छ ।

यो मुद्दामा भने १५ पटकसम्म पक्षका कानुन व्यवसायीले मुद्दा स्थगित गरेका छन्।

धेरैपटक ‘हेर्न नमिल्ने र हेर्न नभ्याइने’मा परेको यो भ्रष्टाचार मुद्दा २०७७ सालमा दुई पटक, २०७८ सालमा एक पटक र २०७९ सालमा दुई पटक र २०८० सालमा चारपटक पेसी चढेको छ । यो समाचार नागरिक दैनिकमा छ।