टी-२० विश्वकप छनोट: मलेसियाले नेपाललाई दियो १६६ रनको लक्ष्य

फाइल तस्बिर

काठमाडौं । आइसिसी टी-२० विश्वकप छनोट खेलमा नेपाललाई मलेसियाले १६६ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको हो।

 टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६५ रन बनायो। मलेसियाका ओपनर सैद अजिजले ४९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए।

मलेसियाले नेपालविरुद्ध ड्रिम सुरुवात गरेको थियो। ओपनर अहमद जुबैदी र सैद अजिजले ५.५ ओभरमा ५८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

अभिनाश बोहराको छैटौं ओभरको पाँचौं बलमा ठूलो सर्ट खेल्ने धुनमा टप एज लागेर जुबैदी कुशल मल्लबाट क्याच आउट भए। जुबैदीले १६ बलमा ३ चौकासहित २४ रन बनाए।

त्यसअघि तीव्र गतिका बलर करण केसीको चौथो ओभरको पाँचौं बलमा जुबैदीको क्याच रोहित पौडेलले मिडअफमा ब्यक्तिगत १४ रनमा क्याच छाड्न पुगेका थिए। त्यो जीवनदान नेपाललाई त्यति धेरै भारी परेन ।

सातौं ओभरको अन्तिम बलमा दुई रन लिनेक्रममा अहमद फैज ३ रनमा रन आउट भए। सन्दीप लामिछानेले ११ औं ओभरको पहिलो बलमा विरनदीपसिंह ४ रनमा एलबीडब्लू आउट गरेका थिए।

कप्तान रोहित पौडेलले शार्विन मुनिआन्दीलाई १३ रनमा कट एण्ड बोल्ड आउट भए। मोहम्मद आमिरलाई अभिनाश बोहराले ८ रनमा बोल्ड आउट गरे।

फिर्ती साम ६ र विजय उन्नीले १३ रन बनाए। नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २२ रन खर्चेर १ विकेट लिए।

गुलशन झाले ३ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। रोहित पौडेलले २ ओभरमा १८ रन खर्चेर १ विकेट लिए । करण केसीले ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १८ रन खर्चेका थिए।