ब्रोइलर कुखराको मूल्य घट्यो

काठमाडौं। दशैं लगत्तै व्यापारीहरुले ब्रोइलर कुखुराको बिक्री मूल्य घटाएका छन्। कुखुरा बिक्री व्यवसायीहरुको संस्था नेपाल नेपाल कुखुरा बिक्री व्यवसायी संघले १२ कात्तिकदेखि यताको ९ दिनमा जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य ५० रुपैयाँले घटाएको हो।

संघका अध्यक्ष जंगबहादुर बिसीकाअनुसार १२ गतेयताको ९ दिनमा ५० रुपैयाँले प्रतिकिलो मूल्य घटेको छ। बजारमा उत्पादन धेरै र खपत कम भएपछि मूल्य घटेको बिसीले बताए।

संघले १२ कात्तिकमा प्रतिकिलो मूल्य २८० रुपैयाँबाट घटाएर २७० रुपैयाँ तोकेको थियो। त्यसको २ दिनपछि १४ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले मूल्य घटाएर २६० रुपैयाँ कायम गर्‍यो । १६ कात्तिकमा पुनः किलोमा १० रुपैयाँले घटेको मूल्य १९ कात्तिकमा २५० बाट घटेर २४० रुपैयाँमा आइपुगेको थियो।

यस्तै सोमबार २० कात्तिकमा संघले पुनः प्रतिकिलो मूल्य १० रुपैयाँले घटाएर २३० रुपैयाँ तोकेको छ। सो मूल्य २१ कात्तिकको बिहानदेखि लागू हुने छ।

जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमै ५० रुपैयाँले घटेपछि तयारी मासुको मूल्य पनि घट्ने अध्यक्ष बिसीले बताए। बजारमा अब तयारी मासुको मूल्य प्रतिकिलो ३२० रुपैयाँसम्म पर्ने उनको भनाइ छ।