क्यानले टि-२० विश्वकपमा पुग्ने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टि-२० विश्वकप २०२४ मा स्थान बनाउने नेपाली क्रिकेट टोलीलाई ५० लाख पुरस्कार दिने भएको छ।

नेपालले बिहीबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

क्यानको मंगलबार बसेको बोर्ड बैठकले ५० लाख पुरस्कारले सम्मान गर्ने जनाएको हो। त्यस्तै क्यानले दुई साताअघि मलेसियामा सम्पन्न एसिसी यू-१९ प्रिमियर कप जित्ने क्रिकेट टोलीका सदस्यलाई जनही ५० हजार रुपैयाँले सम्मान पनि गर्ने भएको छ।

नेपालले यू-१९ प्रिमियर कपको उपाधि जित्दै आगमी २०२४ जनवरीमा यू-१९ एसिया कप समेत खेल्न पाउनेछ। नेपालले टि-२० विश्वकप छनोट एसिया समूह चरणमा सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो।

ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो। समूह चरणमा पाँच रन र फाइनलमा सुपर ओभरमा पराजित भएको थियो।

नेपालले एसिसी यू-१९ प्रिमियर कपको फाइनलमा युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो।

क्यानले नोभेम्बर १५ देखी १९ सम्म चार देश सम्मिलित महिला टि-२० आई सिरिजमा नेपाललाई पठाउने निर्णय पनि गरेको छ।