टी–२० विश्वकपमा छनोट क्रिकेट खेलाडीले जनही १३ लाख पाउने

काठमाडौं। सरकारले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई जनही १३ लाख रुपैयाँ दिने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।

जसअनुसार प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ।

गत आइतबार सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपमा छनोट भएको थियो।