प्रधानमन्त्री प्रचण्डद्वारा नेपालमा लगानी गर्न आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन्।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन्।

भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे।

नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ।

महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए।