विश्वकप छनोट खेल्न राष्ट्रिय फुटबल टोली यूएई प्रस्थान

काठमाडौं। राष्ट्रिय फुटबल टोली सन् २०२६ मा आयोजना हुने विश्वकप फुटबलको एसियाली क्षेत्रको दोस्रो चरणको छनोट प्रतियोगितामा सहभागी हुन आइतबार संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेको छ। सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि पनि यो दोस्रो चरणको छनोट खेल हो।

राष्ट्रिय टोलीका दुई प्रभावशाली खेलाडी रोहित चन्द र मनिष डाँगी भने सिधै दुबई टोलीमा सहभागी हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। पछिल्लो समय रोहित इन्डोनेसिया र मनीष बहराइनमा व्यवसायिक फुटबल खेल्छन्।

नेपाली टोलीले कात्तिक ३० गते युएईसँग दुबईमा ‘अवे’ खेल खेल्दैछ। त्यसपछि नेपालले घरेलु मैदानमा यूएईसँग दोस्रो खेल खेल्नेछ। डिफेन्डर योगेश गुरुङ,मिडफिल्डर निशान हमाल र स्ट्राइकर राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

 राष्ट्रिय टोलीका अनुभवी डिफेन्डर अनन्त तामाङ भने यूएई भ्रमणमा सहभागी छैनन्। अभ्यासका क्रममा उनको घुँडामा गम्भीर चोट लागेको थियो। यूएई प्रस्थान गरेको टोलीमा गोलरक्षकको भूमिकामा किरणकुमार लिम्बु, दीप कार्की र अभिषेक बराल रहेका छन्।

 डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा र योगेश गुरुङ छन्। मिडफिल्डरमा कृतिशरत्न छुन्जु, मनिष डाँगी, लाकेन लिम्बु, उत्सव राई, सेहाङ आङ्देम्बे र निशान हमाल रहेका छन्।

यसैगरी स्ट्राइकरमा अन्जन विष्ट, आयुष घलान, गिलेस्पीजंग कार्की, हिसुब थपलिया, संजीव विष्ट र राजेश परियार रहेका छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको प्रशिक्षणमा २६ सदस्यीय टोलीले लामो समय प्रतियोगिताका लागि तयारी गरेको थियो।

दोस्रो चरणको छनोटअन्तर्गत समूह ‘एच’ मा रहेको नेपालले आफ्नो पहिलो खेल बलियो प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्न लागेको हो। त्यसपछि नेपालले यूएईसँग घरेलु मैदानमा दोस्रो खेल खेल्नेछ।

नेपालले घरेलु मैदानमा आफ्नो पहिलो खेल भने यमनसँग खेल्नेछ। यमनविरुद्धको पहिलो लेग खेल मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलिने कार्यक्रम छ। नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ।

विश्व फुटबल महासंघ(फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा यमन निकै माथि छ। वरीयतामा यमन १५६ औँ र नेपाल १७३ औँ स्थानमा छन्। नेपालको समूहमा यमनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइन पनि रहेका छन्।

आफ्नो समूहमा रहेका सबै टोलीले एकअर्कासँग होम एन्ड अवेका आधारमा दुई—दुई खेल खेल्नेछन्। पछिल्लो फिफा वरीयतामा यूएई ६९ औँ र बहराइन ८३ औँ स्थानमा छन्। यस आधारमा आफ्नो समूहमा नेपाल सबैभन्दा कमजोर टोलीको रुपमा देखिन्छ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा लाओसलाई हराएपछि नेपाल दोस्रो चरणको पहिलो खेल युएईसँग खेल्न लागेको हो। नेपाली टोलीका मुख्य प्रशिक्षक एनेस अहिलेसम्म आफ्ना कुनै पनि खेलाडी घाइते नहुनु सुखद पक्ष रहेको बताउँछन्। उनले प्रतियोगिताको तयारी राम्रो रहेकाले नतिजा सकारात्मक आउने दाबी गरेका छन्।