महिला ट्वान्टी-२० शृंखला खेल्न नेपाली टोली हङकङतर्फ प्रस्थान

काठमाडौं । हङकङमा आयोजना हुने चार देश सम्मिलित महिला ट्वान्टी–२० शृंखला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ।

यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म सञ्चालन हुने उक्त शृंखलामा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा आयोजक हङकङसहित नेपाल, तान्जेनिया र जापान छन्।

शृंखलाको पहिलो खेलमा नेपालले यही कात्तिक २९ गते भाइटीकाका दिन तान्जेनियासँग खेल्नेछ। नेपालले कात्तिक ३० गते आयोजक हङकङसँग खेल्नेछ। नेपालले आउँदो मंसिर २ गते जापानसँग खेल्नेछ।

शीर्ष दुई टोलीले उपाधिका निम्ति मंसिर ३ गते खेल्नेछन्। तेस्रो स्थानको भिडन्त पनि सोही दिन हुनेछ। शृंखलाका सबै खेल हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ।

नेपाली टोलीमा कप्तान इन्दु वर्मासहित उपकप्तान विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, खुसी डंगोल,सोमु विष्ट, संगीता राई, कञ्चन श्रेष्ठ, सोनी पाख्रिन, पूजा महतो, रोमा थापा, काजोल श्रेष्ठ, सम्झना खड्का र रुवि पोदार छन्। रासस