एसीसी यू-१९ एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाडौं ।एसीसी यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ। दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ‍ओभरमा भेट्टायो।

भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए। नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन्।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो। यू-१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो। यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो।

नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दोहोर अंकमा रन जोड्न सकेनन्। हेमन्त धामीले सर्वाधिक ८ रन बनाए। आकाश चन्द ४ रनमा अविजित रहे। नेपालका लागि टिकेर खेल्ने भर पर्दा ब्याटर अर्जुन कुमाल पनि क्रिजमा लामो समय टिक्न सकेनन्।

अफगानिस्तानविरुद्ध ९१ रन बनाएका युवा ब्याटर अर्जुन ७ रनमा क्याच आउट भएका थिए। अर्जुन तीव्र गतिका बलर आराधाय शुक्लाको बलमा कभरमा सट खेल्ने धुनमा मुशिर अहमदबाट क्याच आउट हुन पुगे।

नेपालका लागि भारतका तीव्र गतिका बलर राज लिम्बानी निकै भारी परे। उनले ९.१ ओभर बलिङ गर्दै ७ विकेट लिए।

उनले दिपक बोहोरा, उत्तम थापा मगर, कप्तान देव खनाल,दिपक प्रसाद डुम्रे, दिपक बोहरा, सुवास भण्डारी र हेमन्त धामीलाई आउट गरेका हुन्। अर्का बलर आरध्य शुक्लाले २ र आर्हिन कुलकर्नीले १ विकेट लिए।

प्रतियोगितामा नेपालको यो तेस्रो हार हो। यसअघि पाकिस्तान र अफगानिस्तानसँग पनि पराजित भएको नेपाल यू-१९ एसिया कप क्रिकेटमा समूह चरणबाटै घर फर्केको छ।