मुख्यमन्त्रीलाई पहिचानवादीले देखाए कालोझन्डा

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की चढेको गाडीमा पहिचानवादीले ढुंगामुढा गरेका छन्।

आज झापाको दमकमा पहिचानवादीले कालो झण्डा देखाउँदै मुख्यमन्त्री चढेको प्रदेश १–०४–००१ झ ०००३ नम्बरको गाडीमा ढुंगामुढा गरेका हुन्। ढुंगामुढाबाट गाडीको सीसा फुटेको छ।

झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण,रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा प्रहार गरेका थिए।

प्रदेशसभाबाट १७ फागुनमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरले नाम संशोधनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

मुख्यमन्त्री कार्की विरुद्ध पहिचान पक्षधरले कोशी नाम खारेज गर, पहिचान विरोधी होसियार भन्दै नाराबाजी गरेका थिए।