बारामा प्रहरीको गोली लागेका घाइतेको मृत्यु

सांकेतिक तस्वीर

बारा। बारामा प्रहरीको गोली लागेर घाइते भएका व्यक्तिको मृत्यु भएको छ। बुधबार शिक्षक तथा कर्मचारीको आन्दोलनका क्रममा सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने र गराउन नदिने दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्याँससँगै गोली चलाएको थियो।

प्रहरीको गोली लागेर घाइते भएकी लक्ष्मी मुखियाको वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए।

नगरपालिकामा ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक सातादेखि सामुदायिक विद्यालयहरूमा पठनपाठन ठप्प छ। शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीले १४ महिनायता सेवासुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। सोहीक्रममा बुधबार पनि कर्मचारीले प्रदर्शन गरिरहेका छन्।