नेपाल सुपर लिगमा आज चितवन र धनगढी भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज एफसी चितवन र धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ। खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ।

यस ससिजन अपराजित दुई मध्ये एक धनगढीलाई आजको खेल जित्दै शीर्ष स्थानमा उक्लने अवसर छ।

चार खेलमा २ जित र २ बराबरीबाट ८ अंकसहित धनगढी दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको ललितपुर ५ खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । आज जित हात पारे धनगढीले शीर्ष चारमा रहेर प्लेअफ पुग्ने सम्भावना बलियो बनाउनेछ ।

अर्कोतर्फ चितवन भने पाँच खेलबाट पाँच अंकसहित बटम हाफमा छ। चितवनले एक खेल मात्र जित्दा २ खेल बराबरी गरेको थियो भने दुई खेलमा पराजित भएको थियो।

त्यसैले चितवनका लागि भने आजको खेल जित्नैपर्ने दबाब छ। चितवनले धनगढीलाई हराएमा धनगढी समान नै अंक बनाउनेछ।