नेपाल सुपर लिग: पोखरालाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनलमा

काठमाडौं। पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेश गरेको छ।

निर्धारित समयमा दुबैतर्फबाट एक–एक गोल भएपछि थपिएको ३० मिनेट समयमा पनि दुबैतर्फबाट एक–एक गोल भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा धनगढी ४–३ ले बिजयी भएको हो।

खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए। तर ५४ औं मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले बराबरी गोल फर्काए। त्यसपछि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको हो।

९० मिनेटको खेल सकिएपछि ३० मिनेट समय थप्दा पोखराका स्टेफन कोजो एनोरले १०४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याए। त्यसपछि पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको हो।

पेनाल्टी सुटआउटमा धनगढीका अहमद हिजाजीले गोल गर्न सकेनन् भने पोखराका आयुष घलान र मोजेजको प्रहार धनगढीका गोलकिपर ताहाले बचाएका थिए।