झुक्काएर रुसी सेनामा पठाउने दुई जना पक्राउ

काठमाडौं। रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ गरेका छन्।

होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका सञ्चालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राईलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

उनीहरूले शंकर कार्की , राजन राई र विकास राईलाई रसिया पठाएका थिए। रसिया पुगे पश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८०० डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए। तर, कार्कीले आफू आर्मीको लागि नआएको बताएनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीको लागि बोलाएको बताएका थिए।

त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए। अनुसन्धानका क्रममा एसएसलीमात्रै पास गरेका कार्कीको सबै नक्कली कागजात समेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

अभियुक्तहरुलाई राजधानीबाट पक्राउ गरी मानव तस्करीको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ।

साथै राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको बुझिन आएको रेग्मीले बताए । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।