नेप्से परिसूचक २० अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २० अंकले बढेर बन्द भएको हो। कारोबार सुरु भएदेखि नै निरन्तर बढ्न थालेको नेप्से परिसूचक अन्तिमसम्ममा १ प्रतिशतले बढेर बन्द भयो।

हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो। हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ। आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ।

अन्तिममा २०८० अंकमा आइपुगेर बन्द भएको नेप्से कारोबार समयमा २०९७ अंकसम्ममा पुगेको थियो। कारोबार अवधिमा उच्च अंक छोएपनि अन्तिममा २०८० मा आइपुगेको हो। १ प्रतिशतले सूचक बढेको दिन आज १६५ कम्पनीको सेयर बढेको छ भने ७७ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य स्थिर छ।