थानकोट–चित्लाङ दुर्घटनामा मृतकको संख्या ५ पुग्यो

काठमाडौं। थानकोट–चित्लाङ सडक खण्डमा भएको कार दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ। कार दुर्घटनामा गम्भीर घाइते भएकी स्मारिका गौतमको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै दुर्घटनमा मृत्यु हुने अन्य ४ जनाको पहिचान खुलेको छ।

घटनास्थलमै मृत्यु हुनेहरुमा काठमाडौं महानगरपालिका ३० का ओमकार निधि तिवारी, सोही ठाउँ बस्ने ६४ वर्षीय कल्पना तिवारी, कार चालक काठमाडौँ महानगरपालिका २ लाजिम्पाटका डा।महेशकुमार गौतम,सोही ठाउँ बस्ने ४ वर्षीय प्रियान्स गौतम रहेका छन्। सोही गाडीमा सवार डा. सृष्टि तिवारी गौतम भने सकुशल रहेको प्रहरीले जनाएको छ।

शनिवार काठमाडौंको चन्दागिरी नगरपालिका ४ पानिघाटभन्दा माथि सेतो पहरा भन्ने स्थानमा काठमाडौंबाट चित्लाङतर्फ जाँदै गरेको प्र ३–०१–२३ च ६९८५ दुर्घटना भएको थियो। कार अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

मृतक ४ जनाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको एसपी कुमोद ढुंगेलले जानकारी दिएका छन्।