मेलम्चीको पानी वितरण गर्न मन्त्रालयले बनायो समिति

काठमाडौं। मेलम्चीको पानी वितरण सहजीकरणका लागि खानेपानी मन्त्रालयले समिति गठन गरेको छ।

गत पुस २८ गतेको मन्त्रीस्तरीय निर्णयबाट मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरको नेतृत्वमा समिति गठन भएको हो।

समितिको सदस्यमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपप्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालयका सिनियर डिभिजनल इन्जिनियर विकेश बधानथ्याचे र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सदस्य दिपेश ढकाल रहेका छन्।

मेलम्चीको खानेपानी सन्तुलित रूपमा वितरण भए नभएको जानकारी गराउने, पानी वितरण क्रममा कुनै स्थानमा चुहावट भए सोको जानकारी लिने, पानी नआएको स्थानको जानकारी लिने, धमिलो पानी आएको लगायतका विभिन्न विषयहरूमा अनुगमन गर्ने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जानकारी दिएको छ।

‘माघ १ गते सोमबारबाट विधिवत् रूपमा काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण भइरहेको छ। मेलम्ची खानेपानी सर्वसुलभ रूपमा सबै उपत्यकाबासीको घरघरमा सन्तुलित र समानुपातिक हिसाबले वितरण गर्न मन्त्रालय प्रयत्नशील छ।

मेलम्ची खानेपानीको नयाँ पाइप लाइन परीक्षण सम्पन्न भएका स्थानहरूमा नयाँ वितरण सञ्जालबाट तथा परीक्षण नभएका स्थानहरूमा पुरानै वितरण सञ्जालबाट वितरण भइरहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ मन्त्रालयको सूचनामा भनिएको छ।