सरकारको कार्यशैलीप्रति उठ्यो गम्भीर प्रश्न, प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव ?

काठमाडौं। सत्तारुढ गठबन्धनमा आबद्ध माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सरकार छाड्नुपर्ने आवाज चर्को रुपले उठेको छ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकमा एकीकृत समाजवादीका नेताहरूले सरकारको कार्यशैलीबारे गम्भीर प्रश्न उठाउँदै सरकार छाड्नुपर्ने राय दिए। तर अध्यक्ष लगायत कतिपय नेताहरूले भने अहिले सरकार छाड्न नहुने तर्क गरे। बैठकमा सरकार र आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूको कार्यशैली तथा उपलब्धिबारे छलफल भएको थियो।

सो क्रममा केही सचिवालय सदस्यले सरकारमा बसेर अपेक्षित काम गर्न नसकेको र सरकारको कार्यशैली ठीक नभएको भन्दै सरकार छाड्नुपर्ने बताए । तर केही सदस्यले सरकार छाड्न नहुने बताएपछि दुवै पक्षबीच चर्काचर्की नै परेको बैठकमा सहभागी एक नेताले बताए।

पछिल्लो समय पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनाल लगायत उच्च तहकै नेताहरूले सरकारको आलोचना गर्दै आएका छन्। विशेषगरी हालै भारतसँग सरकारले गरेका सम्झौतालाई लिएर पार्टीभित्र आलोचना र बहस सुरु भएको छ।

सोमबारको बैठकमा पनि सचिवालय सदस्यहरूले जनताले चारैतिर सरकारको कार्यशैलीमाथि प्रश्न उठाइरहेको भन्दै यस्तो बेला आफूहरू मूकदर्शक बनेर सरकारमै बस्नु कति जायज हो भनी अध्यक्ष नेपाललाई प्रश्न गरेका थिए। तर सरकारको कार्यशैली मन नपरे पनि तत्कालै सरकार छाडिहाल्न नसकिने जवाफ अध्यक्ष नेपालले दिए।

स्रोतका अनुसार हाल राजनीतिक समीकरण बदलिन नसक्ने भएकाले सरकार छाड्दा पार्टीलाई थप घाटा हुने जवाफ अध्यक्ष नेपालले दिएका थिए ।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सरकार विभिन्न भ्रष्टाचार काण्डहरूमा मुछिए पनि आफूहरु केही बोल्न नसक्ने अवस्थामा रहेको बताए। सरकारमै बसेर सरकारका गलत कामको विरोध गर्न पनि नसकिने र राम्रो काम गरेको भनी जनतासामु देखाउन पनि नसकिने अवस्था रहेको बताउँदै उनले बरु सरकार छाडेर जनतामा जानु नै अहिले पार्टीका लागि प्रभावकारी हुने धारणा राखेको बताइन्छ।

सचिवालय सदस्यहरूले भारतीय दूतावासले नेपालमा सीधै २० करोडका आयोजना बनाउन पाउने सम्झौताबारे आपत्ति समेत जनाएका थिए । यसबारे प्रवक्ता खचिवडाले जानकारी दिँदै भारतसँगका सबै सम्झौता सार्वजनिक हुनुपर्ने पार्टीको धारणा रहेको बताए ।

सचिवालय बैठकले भारतीय विदेशमन्त्री एस। जयशंकर नेपाल आउँदा नेपाल(भारत बीच भएका सम्झौताहरू सार्वजनिक गर्न माग गर्ने निर्णय गरेको प्रवक्ता खतिवडाको भनाइ छ।

उनले विभिन्न देशसँग भएका नेपालको प्राकृतिक श्रोत, साधन,ऊर्जा,जलस्रोत लगायतका सम्झौताहरू पनि माग गरी पार्टीले अध्ययन गर्ने निर्णय गरेको बताए।

भारतसँग सरकारले गरेका पछिल्ला सम्झौताहरू संवेदनशील रहेको भन्दै ती सम्झौताको पार्टीभित्रै अध्ययन गरी निस्कर्ष निकालिने जानकारी दिए। साथै पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्रीहरूको कामको प्रगति विवरण पार्टीमा बुझाउन निर्देशन दिएको समेत उनले जानकारी दिए।

एकीकृत समाजवादी मात्र हैन सरकारमा रहेका अन्य दलहरू समेत सरकारको कार्यशैलीबारे खुसी छैनन्। कांग्रेसकै अर्को खेमाले सरकारका काम–कारबाहीबारे बेलाबेला प्रश्न उठाउँदै आएको छ। तर पनि कांग्रेस संस्थापन पक्ष अहिले सरकारको विकल्प खोज्नेवाला छैन।

गठबन्धनमा २–२ वर्ष माओवादी–कांग्रेसले सरकार चलाउने र बाँकी १ वर्ष एकीकृत समाजवादीले चलाउनेबारे अनौपचारिक सहमति भएकाले पनि यो सरकारका मुख्य घटकहरू जतिसुकै आलोचना भए पनि सरकार टिकाइराख्न चाहन्छन्।

तर सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सर्वत्र आलोचना बढिरहेछ। यसबारे सरकारको नेतृत्वकर्ता स्वयं प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्डले समेत बेलाबेला असन्तुष्टि पोख्ने गरेका छन् ।

सरकारको एक वर्षे समीक्षाका क्रममा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लक्ष्य र सोचअनुसार सरकारले गति लिन नसकेको स्वीकार गरेका थिए। सोमबार पनि उनले एक समारोहमा बोल्दै सरकारमा आफू सोचेजस्तो सफल हुन अझै नसकेको स्वीकार गरे ।

यसैबीच मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल प्रचण्डलाई राजीनामा दिएर आराम गर्न सुझाव दिएका छन् ।

मंगलबार भक्तपुरमा एक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले देशको खस्किँदो अर्थतन्त्रप्रति जिम्मेवारीबोध नगरेको र बेरोजगारी बढेर युवा पलायन तीव्र भइरहेको भन्दै सुधारका काम गर्न नसक्ने भए राजीनामा दिएर प्रधानमन्त्रीलाई घरमा बस्न सुझाव दिएका हुन्। सुवालले राणा शासन र पञ्चायत विरुद्ध लडेकाहरूले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने पनि बताए।

प्रतिपक्षी पार्टीको त सरकारको विरोध गर्ने धर्म नै हो । तर सत्तामै बसेर सरकारका काम–कारबाहीबारे सन्तुष्ट हुन नसक्नु र सरकार छाड्नुपर्ने सम्मका आवाज उठ्नुले भने सरकारको असफलता प्रतिबिम्बित गर्दछ।

स्वयं प्रधानमन्त्रीले निरीह कुरा गर्नुभन्दा कि ठोस काम गरेर देखाउनुपर्छ हैन भने राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । जनता फकाउने र छक्याउने खेल अनन्तसम्म चलिरहन सक्दैन।