माओवादी महासचिव गुरुङमाथि लाग्यो गम्भीर आरोप,के छानविन होला त ?

फाइल तस्वीर

काठमाडौं। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङमाथि गम्भीर आरोप लागेको छ। राहत वितरणको क्रममा गुरुङले व्यापारिसँग मिलेर भ्रष्टाचार अनियमितता गरेको भन्दै उनलाई फन्टुसको संज्ञा नै दिएपछि यसले माओवादी केन्द्रमा तरङ्ग पैदा गरिदिएको छ।

नेकपा माओवादी केन्द्रभित्रको आन्तरिक राजनीतिक सन्तुलन खास अर्थमा मिल्न सकेको देखिन्न। एकाधबाहेक विषयमा विवादको चरम विन्दुमा पुगेको माओवादी केन्द्रभित्र रहेका विभिन्न प्रवृत्ति र विचारका नेताहरुलाई संयोजनकारी भूमिकामार्फत सन्तुलन मिलाउदै आएका प्रचण्डलाई राहत घोटाला प्रकरणले अर्को झड्का लागेको छ।

नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोर्खबहादुर केसीलाई कारबाही किन नगर्ने भन्दै सोधिएको स्पष्टीकरणको जवाफमा केसीले लामो वृतान्त बताउदै आफै महासचिव बन्ने घोषणा समेत गरेका छन्।

गोर्खबहादुरले माओवादी केन्द्रका महासचिव देव गुरुङलाई भ्रष्ट,फन्टुस,पार्टी फेरुवा र नातेदारभित्रका मान्छेले गरेको भ्रष्टाचार लुकाउने मतियारको रुपमा चित्रण गरेका छन्।

चिनियाँ राहतलाई लिएर बढेको विवादमा चिनियाँ महिलामाथि भएको हातपात र त्यसबाट उत्पन्न विवाद अन्ततः व्यक्तिगत रुपमा गाली गलौज र तल्लो स्तरको आरोपमा केन्द्रित बनेको छ।

केसीले माओवादी केन्द्रलाई पठाएको ६ पन्ने स्पष्टीकरणपत्रमा भनेका छन्,ग्लोबल कर्पोरेसन फर डेभलभमेन्टका कन्ट्री डाइरेक्टर मुक्ति मरासिनी देव गुरुङको सहोदर भदैनीको श्रीमान् हुन् र यी एकाघरका नातेदार तथा देव गुरुङले नै भनसुन गरी चिनियाँहरूको प्रोजेक्ट मरासिनीको संस्थालाई दिलाएको तथा यसको भ्रष्टाचारबाट हुने आम्दानीमा यी दुवै हिस्सेदार रहेको बारेमा पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गरोस्।

भूकम्प पीडितका लागि मरासिनीमार्फत आएको भनिएको सामानमा भ्रष्टाचार भएको केसीले यसरी आरोप लगाएका छन् भने कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले समेत राहत सामाग्री हाइज्याक गरेको आरोप लगाएकी छन्।

यस्तोमा चिनियाँ महिलामाथि भएको हातपात नै विवादको केन्द्र बनेको छ भने पार्टी स्पष्टीकरणपछि केसीले गुरुङमाथि गम्भीर आरोप लगाएका छन्।

महासचिव विवाद र देव गुरुङ

माओवादी केन्द्रको महासचिव बन्ने विषयमा चलेको विवादमा अध्यक्ष प्रचण्डले चलाखीपूर्वक वर्षमान पुन र जनार्दन शर्मालाई साइजमा ल्याउन भन्दै देव गुरुङलाई महसचिव बनाएदेखि नै माओवादी केन्द्रमा एक किसिमको शीत युद्ध चलेको देखिन्छ।

वर्षमान पुन कुटनीतिक ढंगले राजनीति गर्नेमा पर्ने भएकाले उनी शान्त र मौन देखिएपनि जनार्दन शर्मा भने आक्रोश पोखिहाल्छन्। एक कार्यक्रममा उनले महासचिव पद नै अस्वीकार गरेका थिए।

यस्तोमा जनार्दनको इशारामा स्पष्टीकरण दिँदा केसी महासचिव देव गुरुङविरुद्ध यो तहमा पुगेको कतिपयले विश्लेषण गर्न थालेका छन्। माओवादी के्न्द्रभित्रको आन्तरिक विवादलाई नजिकबाट हेर्नेहरुले केसीले जनार्दनलाई टेको ठानेर गुरुङमाथि प्रहार गरेको बताइएपनि यसको भरपर्दो आधार भने देखिन्न।

देव गुरुङको छवि

देव गुरुङ अमेरिकी सहायता परियोजना एमसीसीको चर्को विरोधकर्ता हुन्। एमसीसीलाई नेपाल भित्र्याउनै हुन्न भन्नेमा उनी अग्रपंक्तिमा नै पर्थे।तर,त्यसमा खास सीप भने लागेन। अर्को, सरकारले भारतसँग भर्खरै गरेको २० करोडवाला सम्झौतामा पनि गुरुङको असन्तुष्टि छ।

भारतले सैन्य रणनीति अनुसार काम गर्नलाई यो परियोजनाको नाम नै फेरेको भन्दै उनले सार्वजनिक अपिल गरेका थिए। यताको विवाद फेरि चिनियाँ नागरिकसँग छ।

यसलाई गुरुङ पक्षका केहि नेताहरुले चीनविरोधीहरुले केसीलाई प्रयोग गरेको बताउन थालेका छन्। गुरुङ दक्षिणको विरोध गर्ने र उत्तरको समर्थन गर्ने नेता भएकाले दक्षिणि षडयन्त्रको रुपमा केसीको आरोपलाई लिन समेत थालिएको छ। तर, यसको समेत पुष्टी हुने आधारहरु भने देखिन्नन्।

माओवादी केन्द्रले गर्ला छानविन?

कारबाही प्रक्रिया अघि बढाउने भन्दै सोधिएको स्पष्टीकरणमा आएको जवाफले माओवादी केन्द्रभित्र हलचल नै आएको छ। माओवादी केन्द्रले अब केसीलाई मात्रै कारबाही गर्ला कि गुरुङमाथि लागेका आरोपबारे समेत अध्ययन गर्ला? त्यो खोजीको विषय बनेको छ।

गुरुङका नातेदार दाबी गरिएका मरासिनीले राहत सामाग्रीमा भ्रष्टाचार गरेकै हुन् ? केसीले भने झैं विवरण सार्वजनिक गर्न आनाकानी गरेकै हुन् ? प्रश्नहरु तमाम छन्।

जुन निवारणका लागि माओवादी के्न्द्रले छानविन गर्नुपर्ने देखिन्छ। तर, सन्तुलन मिलाउन भन्दै ल्याइएका महासचिव गुरुङमाथि लागेको आरोपलाई खण्डनमात्रैले पुग्ने भने देखिन्न।

गुरुङले आफ्नो छवि जोगाई राख्न पनि छानबिनको आवाज उठाउनुपर्ने आवश्यकता छ। नभए उनी पनि चिनियाँको पक्षमा खुल्दा दक्षिणले सिध्याउन लाग्यो भन्दै अनियमिततामा मुछिने अर्को माओवादी नेताका रुपमा चिनिन पुग्नेछन्।