संसद् अधिवेशन सुरू हुने बित्तिकै सहमतिबाटै टिआरसी विधेयक टुंग्याइन्छ: प्रधानमन्त्री

फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक अघि बढाएर शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने विश्वास व्यक्त गरेका छन्।

युगान्डामा आयोजित असंलग्न राष्ट्रहरूको आन्दोलन (नाम)को उन्नाइसौँ शिखर सम्मेलनमा सहभागी भएर आइतबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग प्रधानमन्त्री प्रचण्डले टीआरसी विधेयक सदन खुल्नेबित्तिकै टुंग्याइने बताएका हुन्।

‘विधेयक सदन खुल्नेबत्तिकै सहमतिबाटै टुङ्गिन्छ र शान्ति प्रक्रियाले पूर्णता पाउँछ’प्रधानमन्त्री प्रचण्डले चने। उनले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै आफूले सरकारको कामले गति नलिए र मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रीमण्डल पुनर्गठन हुनसक्छ भनेर आफूले मन्त्रीहरूलाई भनिसकेको बताए।

हामी गति लिने कोसिस छौँ, प्रधानमन्त्रीले भने। उनले नेपालको व्युरोक्रेसी क्षमताको हिसाबले दुनियाँको अन्य कुनै पनि देशको भन्दा कम नभएको भन्दै आँट लिने सवालमा भने केही कमी महसुस भएको बताए।

प्रधानमन्त्री प्रचण्डले रुसी सेनामा भर्ती भएकाहरुलाई फर्काउन सरकारले गम्भीरतापूर्वक पहल गरिरहेको पनि बताए। आफूले र परराष्ट्र मन्त्रीले कूटनीतिक पहल जारी राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, रुस–युक्रेन युद्धमा छन्। अहिले सरकारले भन्दावित्तिकै रुसले मान्दिहाल्ने स्थिति छैन।

उनले अवैध तरिकारले विदेशी सेनामा भर्ती हुनु हुँदैन भनेर जनचेतना फैलाउन मिडियाहरुलाई आह्वान पनि गरे। ‘मिडियाहरुले जनतामा चेतना फैलाउन पर्यो। जहाँ पायो त्यहीँ सेनामा भर्ना हुने, अझ बाटो छलेर जाने गर्न भएन भनेर जनचेतना फैलाउन पर्यो,’ प्रधानमन्त्री प्रचण्डले भने।