व्यवसायी पोद्दारसहित १७ विरुद्ध मुद्दा दर्ता, झण्डै ३ खर्ब बिगो दाबी

काठमाडौं । ३३ किलो सुन प्रकरणमा समेत मुछिएका व्यवसायी विमल पोद्दारसहित १७ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत, काठमाडौंमा राष्ट्र बैंक ऐन, २०५८ विरुद्ध र संगठित अपराध गरेको कसूरमा मुद्दा दर्ता भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पेश गरेको रायसहितको प्रतिवेदनको आधारमा अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका जिल्ला न्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए।

सीआईबीले ६ मंसिरमा व्यवसायी रुपेश श्रेष्ठलाई हुण्डी र अनलाइन जुवा चलाएको आरोपमा पक्राउ गरेर अनुसन्धान थालेको थियो।

छानबिनका क्रममा मुलुकको सबैभन्दा ठूलो हुण्डी र क्रिप्टोकरेन्सी कारोबारीको समूह फेला परेको सीआईबीका अधिकृतहरुले बताएका थिए।

६० दिनसम्म अनुसन्धान गरेर अदालतमा मुद्दा दायर हुँदासम्म रुपेशका भाइ दिपेश श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन् । उनले अमेरिकामा बसेर क्रिप्टो कारोबारमा सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

व्यवसायी विमल पोद्दारले पनि रुपेशसँग मिलेर क्रिप्टो कारोबार गरेको भेटिएको प्रहरीको भनाइ छ । पोद्दारको कालिकास्थानमा सिल्भरसिटी अपार्टमेन्ट र द एड्रेस लाउन्ज छ । उनी विमानस्थल भन्सार कार्यालयले बरामद गरेको १४ किलो सुन प्रकरणमा पनि छानबिनको दायरामा आएका थिए।

यो प्रकरणमा आशिष अग्रवाल, मीनबहादुर जिसी, कुमार परियार, झनिन्द्रप्रसाद खतिवडालाई पनि प्रतिवादी बनाइएको छ।

फरार रहेका रचना शर्मा, विमल पोद्दार, ओमकुमार श्रेष्ठ, बिगल सिंह शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, दीपक शर्मा, वाङ्देन फुन्सोक लामा, गोविन्दप्रसाद श्रेष्ठ, रुदे तामाङ र अंशुल श्रेष्ठ पनि प्रतिवादी बनाइएका छन्।

यो मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीहरुबाट दुई खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँ विगो माग गरेको छ।