सानुभाइको समूह फेरि गुण्डा गर्दीमा संलग्न, ७ जनाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं। गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी सानुभाई उर्फ युवराज गुरुङविरुद्ध प्रहरीमा फेरि उजुरी परेको छ। ठमेलको छायाँ सेन्टरस्थित प्ले ब्वाई क्लवमा झगडा गरेको आरोपमा उनीविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए।

सानुभाईको समूहले प्ले व्वाई क्लबमा अर्को समूहलाई कुटपिट गरेर ज्यान मार्ने उद्योग गरेको आरोप छ। उनीहरुविरुद्ध जाहेरी दर्ता गरेर प्रहरी वृत्त दरबारमार्गले अनुसन्धान गरिरहेको छ। कुटपिटमा संलग्न विश्व लामालाई प्रहरीले पक्राउ गरेको छ। पीडित पक्षका अनुसार कुटपिटमा ७ जना संलग्न थिए।

ठमेलको क्लब ओम्नियाका संचालकलाई १५ असारमा कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेर सानुभाइको समूहलाई मुद्धा चलाएको थियो। उनीहरु १० साउनमा १० हजार धरौटीमा छुटेका थिए। छुटेपछि उनीहरु फेरी गुण्डागर्दीमा संलग्न भएको प्रहरी अधिकृतहरु बताउँछन्।