क्रिप्टो कारोबार गर्ने २ जनाविरूद्ध १४ करोडको बिगोदाबी गर्दै मुद्दा दर्ता

काठमाडौं। राजस्व अनुसन्धान विभागले अभौतिक मुद्रा युएसडिटी क्वाइन (क्रिप्टो करेन्सी)को कारोबार गर्ने दुई जनाविरूद्ध मुद्दा दायर गरेको छ।

युएसडिटी क्वाइनको कारोबारको अनुसन्धान गरेका राजस्व अनुसन्धान विभागका अनुसन्धन अधिकृत नवराज अधिकारीले अनुसन्धान सकेर आज ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको बताए।

प्रतिवादीहरू शुभम कुमार यादव र रोहन चौधरीविरूद्ध मुद्दा दायर भएको हो। करिब ५ महिनाको सूक्ष्म अनुसन्धानपश्चात् उनीहरूविरूद्ध मुद्दा दर्ता भएको विभागले जनाएको छ।

प्रतिवादी शुभम कुमार यादवले बाइनान्स एप र को पिटुपी च्यानलको प्रयोग गरी अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानबाट खुलेको छ। साथै शुभम कुमार यादवले कारोबारको रकम राख्न तथा झिक्ने प्रयोजनका लागि उनकै साथी रोहन चौधरीको खाता प्रयोग गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

उनीहरूलाई विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ बमोजिमको सजाय मागदाबी गरी अभियोग दायर गरेको अनुसन्धान अधिकारी एवम् सूचना अधिकारी नवराज अधिकारीले बताए। उनले १४ करोड बिगो मागदाबी गरिएको बताए।

राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अभौतिक मुद्राको कारोबारलाई सूक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएका छन्।