राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल, एमाले तेस्रो

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आइसकेको छ। आगामी फागुनबाट रिक्त हुने १९ सदस्यका लागि आज निर्वाचन भएकोमा सत्ता गठबन्धनका १ जनाबाहेक सबै उम्मेवादवार विजयी भएका छन्।

निर्वाचनसँगै अब राष्ट्रिय सभाको अंकगणित फेरिने भएको छ। राष्ट्रिय सभामा यसअघि एमाले १७ सांसदसहित सबैभन्दा ठूलो दल थियो। माओवादी केन्द्रका १५ र कांग्रेसका १० सांसद थिए।

तीमध्ये एमालेका ८, कांग्रेसका ४, माओवादी केन्द्रका ३, नेकपा एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र एक/एक जनाको पदावधि फागुन २० गतेपछि सकिँदैछ। तिनै पदावधि सकिएर रिक्त हुने सदस्यका लागि आज निर्वाचन भई परिणाम आएको हो।

अब फागुन २० गतेपछि राष्ट्रिय सभामा सबैभन्दा ठूलो दल माओवादी केन्द्र कायम रहनेछ। माओवादीले पाएको ६ मध्ये ५ सिट जित्दा उसको कुल सदस्य संख्या १६ पुगेको छ।

कोशीमा भने गठबन्धनकै मतदाताहरूबाट फ्लोर क्रस भएपछि माओवादी के‍न्द्रकी चम्पादेवी कार्की पराजित भएकी छन्। तीबाहेक सबै ठाउँमा सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन्।

यो भनेको नेपाली कांग्रेसको भन्दा १ बढी हो। कांग्रेसको राष्ट्रियसभामा सांसदको संख्या १५ पुग्नेछ। यसअघि उसको १० सांसमात्रै थिए। एमाले भने यसपालि नराम्ररी खुम्चिएको छ। १० सांसदसहित राष्ट्रिय सभामा तेस्रो दलमा खुम्चिएको छ। एकीकृत समाजवादीको ८, जसपाको ३ तथा लोसपा र राष्ट्रिय जनमोर्चाको १/१ सांसद छन्।