अध्यागमनमा संगठित रूपमै भिजिट भिसाको सेटिङ,थप ७ कर्मचारीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका थप ७ जना कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलियामाथिको अनुसन्धानमा थप कर्मचारीको संलग्नता पुष्टि भएपछि जिल्ला अदालत काठमाडौंले माघ ९ गते सात कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

स्रोतका अनुसार पक्राउ पुर्जी जारी हुने अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल,विकास डंगोल, पीताम्बर रिमाल र सुजन फागो रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंले अधिकृत खड्कासहित १० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । उनीहरूको बयान र मोबाइलमाथि अनुसन्धान हुँदा अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको पुष्टि भएको हो।

अधिकृत खड्काले पक्राउ पुर्जी भएका सातैजनाको नामसमेत लिएर आफूहरूले मिलेरै भिजिट भिसामा यात्रा अनुमति दिने गरेको र पैसा बाँडेर लिने गरेको बयान दिएका छन्। उनको मोबाइलमा समेत यससम्बन्धी प्रमाण फेला परेको प्रहरीले जनाएको छ।