मुलुकमा राजनीतिक अस्थिरताको बादल अझै मडारिरहेको छ :अध्यक्ष नेपाल

फाइल तस्वीर

काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको वर्तमान राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेको बताएका छन् ।

आइतबार पार्टीको दोस्रो केन्द्रीय परिषद् बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष नेपालले २०७९ को निर्वाचनपछि राजनीतिक शक्ति सन्तुलन र समीकरणहरुमा केही केही फेरबदल आए पनि राजनीतिक अस्थिरता कायमै रहेको बताएका हुन् ।

‘मुलुकको राजनीतिमा अझै पनि अस्थिरताका बादल मडारिरहेका छन्’, अध्यक्ष नेपालले आफ्नो प्रतिवेदनमा भनेका छन्,‘यसबिच आम निर्वाचन २०७९ को निर्वाचन परिणामले निर्माण गरेको राजनीतिक शक्ति सन्तुलनमा खासै परिवर्तन भएको छैन ।

अहिले पनि संसदमा १२ वटा राजनीतिक दल कायम रहेको भन्दै उनले २०७९ को निर्वाचनपछि सरकारको समीकरण बदलिएर सात दलीय गठबन्धन कायम रहेको र प्रचण्ड नेतृत्वको सरकारले जनपक्षीय काम गरिरहेको बताएका छन् । तर उनले मुलुकको आर्थिक अवस्था सन्तोषजनक नरहेको बताएका छन् ।

उनले राजनीतिक स्थिरता र सरकारको स्थिरताबारे प्रश्न उठेको भन्दै संसदमा परिवर्तन पक्षधर र विपक्षमा रहेका राजनीतिक दलबिच द्वन्द्व चलिरहेको बताएका छन् । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको पनि बताएका छन्।