प्रधानमन्त्री कप: उपाधिको लागि पुलिस र आर्मी भिड्दै

काठमाडौं। छैटौं संस्करणको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान ९:१५ मा टियु क्रिकेट मैदानमा सुरु हुनेछ।

पुलिस अपराजित रहँदै शीर्ष स्थानमा रहेर फाइनलमा खेलेको हो। पुलिसले लिगका सबै ९ खेल जितेको थियो। आर्मी ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो। लिग चरणमा आर्मी पुलिससँग भैरहवामा १३ रनले पराजित भएको थियो।

पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले कप्तानी गर्नेछन्। आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा दुई शतक हानेका छन्। टीयु मैदान विनोद भण्डारीको लागि लक्की पनि मानिन्छ।

विनोद, कुशल मल्ल, भीम सार्की,सोमपाल कामी,जितेन्द्र मुखिया र साहब आलम जस्ता खेलाडी आर्मीमा छन्। भीम र कुशलले ब्याटिङमा जिम्मेवारी लिनुपर्ने हुन्छ।

यता पुलिसमा दीपेन्द्र,कुशल भुर्तेल,आरिफ शेख,अर्जुन साउद,सागर ढकाल,करण केसी र ललितनारायण राजवंशी लगायतका खेलाडी छन्।

२०१७ को प्रधानमन्त्री कप फाइनल वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए।२०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए। सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली हो।

प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार प्राप्त गर्नेछन्। उदीयमान खेलाडीले १० हजार पाउनेछन्।