नक्कली टिकट बिक्री गर्ने उद्योग वाणिज्य संघका महासचिवसहित ४ जनाले पक्राउ

सांकेतिक तस्वीर

धनगढी। अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्री प्रकरणमा चार जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

महोत्सवमा नक्कली टिकट बिक्री गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलीपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन्।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)कुलदीप चन्दले चारै जना शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आफैं उपस्थित भएपछि हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए।

नक्कली टिकट बिक्री प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए।

तर संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध पनि किटानी जाहेरी दिएका थिए।

उनले घटनालाई सेफ ल्यान्डिङ गर्न अर्को किटानी जाहेरी दिनुपरेको महासचिवलाई भनेको अडियोसमेत बाहिरिएको थियो।

यो प्रकरणमा जोडिएका संघका सचिव दिलीपकुमार साउँद गोदावरी नगरपालिकाका मेयरका स्वकीय सचिवसमेत हुन् तर घटनामा मुछिएपछि भने मेयरको सचिवालयले उनलाई हटाएको छ।

संघले साउँदलाई टिकट व्यवस्थापनको जिम्मा दिएको थियो भने दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति भुवन महराले बिक्री गर्ने गरेका थिए।

२६ पुसदेखि सुरु भएको प्रादेशिक महोत्सवमा नक्कली ठेली छपाएर टिकटमा प्रयोग गरी आर्थिक अनियमितता गरेको भन्दै संघले सुरुमा छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निवेदन दिएको थियो।जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो।