कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।

आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले माघ २४ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने निर्णय गरेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।

त्यस्तै यहि माघ १६ गतेदेखि सुरु भएको ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने, स्वर्गारोहणको १३ औँ दिनमा सम्बन्धित जिल्ला झापामा शोक सभाको आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ। पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो।