जनतासँग जोडिएको लघुवित्तलाई प्रभावकारी रूपमा अघि लैजानुपर्छ: नेता कोइराला

फाइल तस्वीर

विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले ६० लाख भन्दा बढी नेपाली जनतासँग जोडिएको लघुवित्तको सेवालाई प्रभावकारी रूपमा अघि लैजानुपर्ने बताएका छन्। ‘कल्पना गरौँ, आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे कसरी बस्थे ? उनले भने,‘लघुवित्त यो देशमा चाहिन्छ,भन्ने मान्यता राखेर अगाडि बढ्नुपर्छ।

बैंकमा पहुँच नपुगेका गरिब तथा विपन्नको पहुँच लघुवित्तमा रहेको बताउँदै उनले कतै समस्या भए सुधार गरेर अघि बढ्न आग्रह गरे। ‘गरिब भन्दा गरिब व्यक्तिले यसमा पहुँच पाउँछन्, त्यसलाई अझ बढी प्रभावकारी बनाउनुपर्छ भन्ने मेरो मान्यता हो,’ उनले भने,‘ ऋणसँगै सीप पनि चाहिने हुन्छ,लघुवित्त संस्थाले गर्नुभएकै रहेछ,सीपलाई आजको दिनमा कस्तो खाले चाहिन्छ त्यो कुरालाई ध्यान दिनुहोला।उनले उद्यमशीलता विकाससँगै बजारको व्यवस्थापनमा पनि सहजीकरण गरिदिन आग्रह गरे।

ग्रामीण क्षेत्रका विपन्न परिवारका घरसम्म पुगेर वित्तीय सेवा प्रदान गरिरहेको लघुवित्त संस्थाहरुलाई संरक्षण गरेर अघि बढाउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

आठ वटा वित्तीय संस्थाले आयोजना गरेको ‘प्रादेशिक सदस्य सम्मेलनको प्रतिवेदन सार्वजनिक तथा लघुवित्तको समसामयिक विषयमा छलफल कार्यक्रम’मा बोल्ने वक्ताहरूले ६० लाख भन्दा बढी व्यक्ती जोडिएको लघुवित्तलाई संरक्षण गर्दै प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताएका हुन्।राजनीतिक दलका नेता, लघुवित्त अभियानकर्मी र उपभोक्ता र विश्लेषकले गरिबी उत्थानका लागि लघुवित्त आवश्यक रहेको बताए।