इन्सपेक्टर शाहीले जागिर छोड्न बाध्य पारेको प्रहरी जवानको आरोप

धनगढी । कञ्चनपुरमा पाँच महिनाअघि सुनको सिक्री हराएको प्रकरणमा मुछिएका प्रहरी जवानले आफूलाई सिनियर प्रहरी अधिकृतले जागिर छाड्न बाध्य पारेको आरोप लगाएका छन्।

गत ८ पुसमा जिल्ला प्रहरी कार्यालय बाजुरामा राजीनामा दिएका प्रहरी जवान नरेन्द्र नाथले कञ्चनपुरमा कार्यरत हुँदा जिल्ला प्रहरी कार्यालयकी प्रहरी निरीक्षक विनु शाहीले आफूलाई जागिर छाड्न बाध्य पारेको दाबी गरेका हुन्।

बाजुराबाट राजीनामा दिएर महेन्द्रनगर घर फर्किएको बताएका नाथले राजीनामा स्वीकृत नभएपछि २२ पुसमा जिप्रका कञ्चनपुरमा बिदाको निवेदन स्वीकृत भएरनभएको बुझ्न जाँदा बिनाकारण प्रहरीले हिरासतमा राखेर कुटपिट गरेको आरोप लगाएका छन्।

सोही कारण आफूले प्रहरी जवान पदबाट राजीनामा दिएको नाथको भनाइ छ। तर, प्रहरी निरीक्षक शाहीले भने नाथलाई कुटपिट गरेको भन्ने आरोप गलत भएको बताएकी छन्।

२२ पुसमा जिल्ला प्रहरी कार्यालयमा आएर थुनुवालाई सुर्तीजन्य पदार्थ दिइरहेको बेला नाथलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको शाहीको भनाइ छ।

तर, भोलिपल्ट सम्झाइबुझाइ गरेर छाडिएको बताउँदै शाहीले नाथसँग सोही दिन पहिलोपटक भेट भएको बताइन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले पनि नाथ थुनुवा कक्षमा पुगेर सुर्तीजन्य पदार्थ दिइरहेको अवस्थामा भेटिएपछि नियन्त्रणमा लिइएको बताए।

उनले प्रहरी निरीक्षक शाहीले कुटपिट गरेको भन्ने कुरा अहिलेसम्म जानकारीमा नभएको बताउँदै उजुरी परेमा छानबिन गरिने बताएका छन् ।