नेपाल र चिनियाँ युवा फुटबल टोलीबीच मैत्रीपूर्ण खेल आज हुँदै

काठमाडौं। नेपालको युवा फुटबल टोली र नेपाल भ्रमणमा आएको चीनको चिङ्घाई फुटबल क्लबको युवा टोलीबिच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण खेल हुँदै छ। खेल नेपाली समय अनुसार, दिउँसो ३ः०० बजे सुरु हुनेछ।

प्रतियोगिता चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन लागेको हो। प्रतियोगिताको आयोजकमा नेपालस्थित चिनियाँ राजदूतावास,राष्ट्रिय खेलकुद परिषद्(राखेप) र नेपाल पर्यटन बोर्ड रहेका छन्। प्रतियोगिताको सह–आयोजकमा भने एन्फा र नेपाल ओभरसिज चिनियाँ सङ्घ रहेका छन्।

मैत्रीपूर्ण खेलअघि आयोजना गरिने उद्घाटन समारोह पनि विशेष हुने बताइएको छ। पहिलो हाफको खेल सकिएपछि पनि चिनियाँ कलाकारले स्थानीय संस्कृति झल्कने विशेष प्रस्तुति दिनेछन्। मैत्रीपूर्ण खेलमा सहभागी हुन चिनियाँ टोली बुधबार काठमाडौँ आएको हो।

उक्त खेलका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लेसाधारणतर्फ तीन सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ टिकट दर निर्धारण गरेको छ। प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले आफूहरू खेलका लागि तयार रहेको बताएका थिए।

नेपाली टोलीका प्रमुख प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले मैत्रीपूर्ण खेल युवा खेलाडीका लागि क्षमता देखाउने गतिलो अवसर रहेको बताएका थिए। प्रशिक्षक एनेसले मैत्रीपूर्ण खेलका लागि आफूहरूले पोखरामा आठ दिन प्रशिक्षण गरेको बताएका थिए।

चिनियाँ क्लबविरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानको जिम्मेवारी पाएका मनिष डांगीले पनि आफूहरूले मैत्रीपूर्ण खेलका लागि आठ दिनको प्रशिक्षण गरेको बताएका थिए। उनले टोलीमा युवासँगै अनुभवी खेलाडीको पनि उपस्थिति रहेकाले मैत्रीपूर्ण खेलमा गतिलो प्रदर्शन गर्ने दाबी गरेका थिए।

यसैगरी चिनियाँ क्लबका प्रशिक्षक बादेङ चेङ लिनले आफ्ना खेलाडी पहिलो पटक ठुलो प्रतियोगिताको अनुभव बटुल्न नेपाल आएको बताएका थिए। चिनिया टोलीका पदाधिकारी दो जी दाङ झुले नेपाल र चीनबिच खेलकुदको माध्यमले नयाँ सम्बध गाँस्न पाएकोमा खुसी लागेको बताएका थिए।

उनले नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय भएको आफूले जानकारी पाएको पनि बताएका थिए। ‘नेपाली फुटबलको विषयमा हामीले धेरै कुरा सुनेका छौँ। नेपाली फुटबल टोलीको प्रदर्शन निकै स्तरीय छ। हाम्रा खेलाडीले पनि नयाँ अनुभव बटुल्ने अवसर पाउने छन्,’ उनले भने।