नेपाललाई क्यानडाले दियो २८६ रनको लक्ष्य

काठमाडौं । अन्तराष्ट्रिय एकदिवसीय दोस्रो खेलमा क्यानडाले जितका लागि नेपाललाई २८६ को लक्ष्य दिएको छ। क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको हो ।

शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको क्यानडाले राम्रो सुरुवात गरेको थियो। ओपनरद्वय आरोन जोनसज र नवनित दालिवाले पहिलो विकेटका लागि ९४ रनको साझेदारी गरे। तर, १९औं ओभरको दोस्रो बलमा डेब्यूटेन्ट आकाश चन्दले नवनितलाई ४६ रनमा आउट गरे। जोनसन ६५ रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १२६ रन थियो।

त्यसपछि प्रगत सिंह र निकोलस किर्तोनले पारी सम्हाल्ने प्रयास गरे। तर ३२ औं ओभरमा कप्तान रोहितकुमार पौडेलले लगातार दुई विकेट लिँदै क्यानडामाथि दबाव बनाएका थिए।

ओभरको दोस्रो बलमा उनले प्रगतलाई ३८ रनमा आउट गरे। स्वीप खेल्ने क्रममा डीप स्क्वायर लेगमा सोमपाल कमीले उनलाई क्याच आउट गरेका हुन्।

पाँचौं बलमा विकेटकिपर आसिफ शेखले किर्तोनलाई स्टम्पिङ गरे। उनी २० रनमा आउट भए, जतिबेला क्यानडाको स्कोर १८०÷४ थियो।

सातौं नम्बरका ब्याटर श्रेयश मोभ्भा र दशौँ नम्बरका उदय भागवानले ९ औं विकेटका लागि ४४ रनको साझेदारी गरे। ४० रन बनाएका मोभ्भा अन्तिम बलमा आउट भने भागवन २० रनमा नट आउट रहे।

नेपालका लागि कप्तान रोहित र कुशल मल्लले समान २ तथा पवन सर्राफ,आकाश चन्द, सूर्य तामाङ र सोमपाल कामीले समान १ विकेट लिए। सूर्यले एक दिवसीय करिअरको पहिलो विकेट लिएका हुन्।