माओवादी नेता सम्पत्ति शुद्धीकरणमा दोषी ठहर

काठमाडौं। विशेष अदालतले नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज पुरी ‘गगन’लाई सम्पत्ति शुद्धीकरणमा दोषी ठहर गरेको छ।

आइतबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पुरीलाई दोषी ठहर गरेको हो।

गगन र उनकी श्रीमती सीमाको नाममा ४ करोड ३ लाख ३४ हजार ८ सय ९४ रुपैयाँ अवैध सम्पत्ति भेटिएकोले दुवै जना सम्पत्ति शुद्धीकरण ऐनअनुसार दोषी ठहर भएको बताइएको छ।

अदालतले सजाय निर्धारणका लागि आगामी फागुन ६ गते पेसी तोकेको छ। पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए।

झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमक-१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण विभागले पुरी दम्पतीसहित ६ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो।